AdAd
Ad

कृषि विकास बैंकले तयार पार्यो ५ वर्षे रणनीति, व्यवसायीक कृषि कर्जा विस्तार तथा वित्तीय अवस्था सुधार बैंकको पहिलो प्राथमिकता Featured

काठमाडौं, २३ मंसिर । कृषि विकास बैंक लिमिटेडले कारोबार विस्तार गर्न ५ वर्षे रणनीति तयार पारेको छ । बैंकले मुुलुकमा व्यवसायीक कृषि प्रणालीको विकास गर्न कृषि कर्जामा जोडका साथै युवावर्गलाई कृषिमा आकर्षित गराउन नयाँ कृषि कर्जा योजनाहरु ल्याउने बताएको छ । कृषिमा आधारित जनसंख्या अधिक भएको तर वित्तीय सेवा नपाएको कारण कृषि कर्जामा जोड दिइएको कृषि विकास बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताए । ‘हामीले सम्रग कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले व्यवसायीक कृषि कर्जा प्रवाह गर्दै आएको छौं,’ उनले भने, ‘युवावर्गलाई पनि समेट्ने हाम्रो लक्ष्य रहेको छ ।’
बैंकले तयार गरेको ५ वर्षे रणनीति अनुसार कृषि विकास बैक अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा थप प्रतिस्पर्धी बन्ने जानकारी दिएको छ । बैंकले निक्षेप परिचालनमा व्यापकता ल्याउने र कर्जा प्रवाहलाई विस्तार गर्न लक्ष्य तय गरेको छ । साथै बैंकको वित्तीय अवस्थालाई सुधार गर्दै, ग्राहकहरुलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने भएको छ । कृषि विकास बैंकले आगामी दिनमा ग्राहकवर्गहरुलाई परस्कृत सेवा दिनेछौं उपाध्यय बताउँछन् ।
यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ६५ अर्ब ४७ करोड रुपैयाँ र कर्जा प्रवाह ५८ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यस्तै सोहि अवधिमा बैंकको कुल निष्क्रिय कर्जा अनुपात ५.६२ प्रतिशत रहेको छ । वित्तीय अवस्थामा सुधार हुँदै निक्षेप तथा कर्जाको मात्रामा वृद्धि आएको बैंकले बताएको छ । ‘हाम्रो वित्तीय अवस्था सुधारात्मक हुँदै गएको छ, विगतमा दोहोरो अंकमा रहेको खराब कर्जाको अनुपात अहिले हामी केन्द्रिय बैंकले तोकेको सिमामा ल्याउने तयारीमा छौं,’ उपाध्ययले भने ।
कृषि विकास बैंकको हाल एक सय ८१ वटा शाखा कार्यलयहरु संचालनमा रहेका छन् । बैंकले ९ लाख ग्राहकहरुलाई आफ्नो वित्तीय सेवा प्रवाह गर्दै आएको छ । ‘हाम्रो सबै शाखामार्फत ग्राहकहरुलाई सरल र सुलभ बैकिङ सेवा दिदै आएको छौं’ उपाध्ययले बताए, ‘हामीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारका लागि शाखा रहित बैंकिङ सेवा समेत उपलब्ध गराएका छौं ।’
कृषि विकास बैंक मुलुकको कृषि प्रणालीलाई विकास गर्न यस क्षेत्रमा कर्जा प्रवाह गर्न सरकारी स्वमित्वमा संचालित बैंक हो । बैंकले हाल कृषि क्षेत्रको विकासका लागि कर्जा प्रवाहका साथै अन्य वैकिङ सेवा तथा सुविधाहरु दिदै आएको छ । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top