AdAd
Ad

गत वर्षभन्दा वैदेशिक लगानी प्रतिवद्धता ७२ प्रतिशत कम

काठमाडौं, २७ कार्तिक । चालु वर्षको पहिलो त्रैमासमा गत वर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धतामा ठूलो गिरावट आएको छ । उद्योग विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको असोज महिनासम्म दुई अर्ब ४९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ, जबकी गत आर्थिक वर्ष २०७०÷७१ को सोही अवधिमा यस्तो प्रतिवद्धता आठ अर्ब ९७ करोड रुपैयाँ बराबरको थियो जुन ७२.०४ प्रतिशतको गिरावट हो । उद्योग विभागका अनुसार गत वर्ष जलविद्युत्का दुई ठूला परियोजनामा आएको पाँच अर्ब ३५ करोड रुपैयाँको प्रतिवद्धताले प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष बढी देखिएको हो ।
तर पनि नेपालको व्यावासायिक वातावरण सुधार हुन नसक्दा लगानी अपेक्षित परिमाणमा भित्रन नसकेको उद्योगी÷व्यावसायीहरु बताउँछन् । “लोडसडिङ, श्रमसमस्या, पूर्वाधार अभाव जस्ता जबर्दस्त समस्याले लगानीको वातावरणमा सुधार ल्याउन सकिएको छैन,” नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले भने, “तरपनि सरकारले नीतिगत तहमा गर्न लागेको सुधारको प्रयासले आशा गर्ने ठाउँ देखिएको छ ।” नेपाल उद्योग वाणिज्य महासंघमा श्रम सम्बन्ध समितिको सभापति समेत रहेका गोल्छाले श्रम ऐन चाँडो ल्याउनका लागि उक्त विधेयकमा मजदुर र उद्योगीबीच सहमति निर्माण भैसकेको बताए । श्रम सम्बन्धमा सुधार तथा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाले उत्पादन थालेपछि व्यावसायिक वातावरणमा सुधार आउने गोल्छाको भनाई छ ।
विश्व बैंकले पनि हालै सार्वजनिक गरेको ‘डुइङ विजनेस रिपोर्ट’ मा नेपालको व्यावसायिक वातावरण दक्षिण एसियामा दोस्रो राम्रो रहेको बताएको थियो । सरकारले व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत सुधारको प्रक्रिया अघि बढाइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयक र औद्योगिक व्यवसाय विधेयक संसद्बाट अनुमोदनका लागि लैजाने तयारी भैरहेको छ ।
चालु आर्थिक वर्षमा प्रतिवद्धता भएको दुई अर्ब ४९ करोड रुपैयाँ वैदेशिक लगानीमध्ये ९० करोड ९४ लाख रुपैयाँ सेवा क्षेत्रमा भित्रन लागेको हो भने ६० करोड ६२ लाख उत्पादन क्षेत्रमा । त्यस्तै, पर्यटनमा ४५ अर्ब ३० करोड, कृषिमा ३८ करोड ४३ लाख तथा खानीमा १४ करोड रुपैयाँ प्रतिवद्धता आएको हो । यो प्रतिवद्धता १४० परियोजनाका लागि आएको हो जसबाट तीन हजार आठ सय ८५ जनाले रोजगारी पाउन अपेक्षा गरिएको छ ।
गत वर्ष ५ अर्ब ५१ करोड लगानी प्रतिवद्धता भारतीय लगानीकर्ताबाट आएको थियो भने यस वर्ष एक अर्ब ९ करोड रुपैयाँ चिनियाँ लगानीकर्ताबाट प्रतिबद्धता आएको छ ।
गत वर्ष ३०४ परियोजनाका लागि २० अर्ब आठ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top