AdAd
Ad

निगम व्यवस्थापनले नै पेट्रोलियमको मूल्य समायोजन गर्न सक्ने Featured

काठमाडौं, २७ मंसीर । नेपाल आयल निगम सञ्चालक समितिले स्वचालित मूल्य पद्धति अनुरुप निगम व्यवस्थापनले नै पेट्रोलियमको मूल्य समायोजन गर्न सक्ने अख्तियारी प्रदान गरेको छ । गत असोज महिनामा निगमले पेट्रोल, डिजेल र मटीतेलमा स्वचालित मूल्य पद्धति लागू गरेको भएपनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्षताको सञ्चालक समितिलाई मात्र मूल्य समायोजनको अख्तियारी रहेको थियो ।
तर सञ्चालक समितिको बैठक बस्न हुने ढिलाइका कारण समयमा मूल्य समायोजन हुन नसकेको गुनासो आएपछि वाणिज्य मन्त्रीस्तरीय निर्णयबाट आगामी डिसेम्बर १६ देखिको मूल्य समायोजन निगम व्यवस्थापनले नै गर्न सक्ने अख्तियारी दिएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
नेपाल आयल निगमले भारतीय आयल निगम (आईओसी) बाट हरेक अंग्रेजी महिनाको पहिलो र सोह्रौं दिनमा प्राप्त हुने मूल्य सूची अनुसार मूल्य स्थानीय बजारमा समायोजन गर्ने गर्छ । यो अन्तर्राष्ट्रिय मूल्य अनुसारको सूची हो । यसअघि स्थानीय बजारको मूल्य र अन्तर्राष्ट्रिय बजारमा खरिद गर्ने मूल्यमा अन्तर हुँदा आयल निगम घाटामा रहेको थियो । तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम शुरु भएपछि निगमले गत असोजमा पेट्रोल, डिजेल र मटीतेलमा स्वचालित मूल्य पद्धति शुरु गरेको थियो । स्वचालित मूल्यपद्धतिले विद्यमान मूल्यमा दुई प्रतिशत कम या सोही बराबर मूल्य बढ्दा मूल्य समायोजन गर्न सक्ने व्यवस्था गरेको छ । स्वचालित मूल्यमा निगमले सबै पेट्रोलियममा नाफा राखेको छ । यो नाफाबाट निगमले यसअघि विभिन्न वित्तिय संस्थाबाट लिएको ऋण तिर्ने बताएको छ । यस्तो ऋण २५ अर्ब रुपैयाँ जति रहेको छ । यसबाहेक सरकारको १२ अर्ब रुपैयाँ ऋण रहेको छ । यो ऋण निगमको पुँजीमा परिणत गरी पुँजी वृद्धि गर्न अर्थमन्त्रालयमा अनुरोध गरेको प्रबन्ध निर्देशक भट्टले बताए ।
निगमलाई अहिले खाना पकाउने ग्यास (एलपी ग्यास) बाहेक पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन नाफामा बिक्री गर्दै आएको छ । पछिल्लो मूल्य अनुसार खाना पकाउने ग्यासमा भने प्रति सिलिण्डर २९० रुपैयाँ ७६ पैसा घाटा रहेको छ । खाना पकाउने ग्यास प्रतिमहिना १५ लाख सिलिण्डर खपत हुन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top