AdAd
Ad

बैंकको सुन बिक्री हुन छाड्यो, सुन बिक्री वितरण सम्बन्धि कार्यविधि संशोधनको तयारी

काठमाडौं, कार्तिक २६ । वाणिज्य बैंकहरुले गत वर्ष चैतदेखि सुन बिक्री गर्न सकेका छैनन्, जबकी सुन आयात गर्ने अख्तियारी यिनीहरुलाई मात्र छ । अहिले ३० वाणिज्य बैंकहरुको भल्टमा ३८८ किलोभन्दा बढी सुन थन्किएर रहेको छ ।
आर्थिक वर्ष २०६७÷६८ मा सुनको आयात अत्याधिक बढेर शोधनान्तर स्थितिमै असर देखिएपछि सरकारले सुन आयातमा कडाइँ गरी बैंकहरुले मात्र दैनिक १५ किलो सुन आयात गर्न सकिने व्यवस्था मिलाएको हो । बजारमा सुनको माग बढेको बेला राष्ट्र बैंकले २० केजी सम्म आयात गर्न सकिने व्यवस्था मिलाउँदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यका अनुसार विवाह, चाडबाड लगायतका बेला सुनको खपत दैनिक ४० केजी नाघ्छ । “गहनाका लागि सधैं नयाँ सुन नै चाहिन्छ भन्ने होइन, पुराना गहना पेलेर पनि नयाँ गहना बनाइन्छ तर पुराना गहनाबाट नयाँ बनाउने काम धेरै कम हुन्छ,” शाक्यले भने, “यसबाहेक सरकारले विदेशबाट आउनेलाई ५० ग्रामसम्मको सुनका गहना बिना भन्सार ल्याउन सकिने सुविधा दिएको छ, यसले पनि केही हदसम्मको माग धानेको छ ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र स्थानीय बजारमा विवाह आदिका कारण सुनको माग बढीरहेको छ । दैनिक १५ केजी आयात गर्ने बैंकहरुले सुन बिक्री गर्न सकिरहेका छैनन् भने बजारमा सुनको माग कसरी सम्बोधन भैरहेको छ त भन्ने प्रश्नको जवाफमा व्यवसायीहरु ‘तस्करी’ एकमात्र कारण रहेको बताउँछन् । नेपाली बजारमा चीनबाट तस्करी भएर आउने सुनले माग धानिरहेको छ भने बैंकहरुको सुनमा लगानी स्थिर बसिरहेको छ ।
“एकातिर लगानी गरिएको ठूलो पुँजी स्थिर बसिरहेको छ अर्कोतर्फ बीमाको चर्को प्रिमियम तिर्नुपरिरहेको छ,” नेपाल बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भने, “सुन किनेर समयमा बेच्न नपाउँदा बीमा शुल्कमा बैंकहरुले धेरै रकम खर्चिनुपर्नेहुन्छ ।”
व्यवसायीहरु पनि अनौपचारिक बजारमै ‘तस्करी’ को सुन सस्तोमा पाइने भएपछि उतै आकर्षित भैरहेका छन् । यसो गर्दा उनीहरुलाई करबाट पनि उन्मुक्ति भैरहेको छ । “बैंकको सुन किन्दा सबै रेकर्ड करसम्म पुग्छ र त्यही अनुसारको कर तिर्नुपर्छ, अनौपचारिक बजारमा किन्दा हामीलाई करको झञ्झट पनि हुँदैन,” एक व्यवसायीले भने ।
बैंकको सुन किन्न भन्दा अनौपचारिक बजारमा किन्न गहना व्यवसायीहरुलाई सजिलो त छँदैछ, यसबाहेक नेपाल सुनचादीं व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ तथा हस्तकला महासंघबाट सिफारिश बिना बैंकबाट सुन किन्न नपाइने व्यवस्था छ । यी महासंघहरुले प्रतिकेजी पाँच हजार रुपैयाँसम्म सिफारिश शुल्क लिने गर्छन् । “महासंघलाई तिर्ने सिफारिश शुल्क, त्यो पनि चाहे अनुसारको सिफारिश नपाइने व्यवस्थाले पनि व्यवसायीहरुलाई बैंकबाट सुन किन्न निरुत्साहीत गरिरहेको छ,” नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष राजन सिंह भण्डारीले भने ।
बैंकर्सहरुले सुन बिक्री वितरणको कार्यविधि संशोधन गरी व्यवसायीलाई सुन बेच्न महासंघको सिफारिश नचाहिने व्यवस्था गर्न राष्ट्र बैंकमार्फत् सरकारसँग पहल गरिरहेका छन् । सुनको बिक्री वितरण व्यवस्थित गर्न राष्ट्र बैंकले महासंघले आफ्ना सम्बन्धित व्यवसायीलाई सिफारिशका आधारमा सुन किन्न सक्ने व्यवस्था गरेको थियो । जसअनुसार, कुल दैनिक कोटामध्ये नेपाल सुनचादीँ व्यवसायी महासंघले ५० प्रतिशत, रत्न तथा आभूषण महासंघले ४० प्रतिशत र हस्तकला महासंघले १० प्रतिशत सिफारिश गर्न सक्छन् ।
सिफारिशको झञ्झटले व्यवसायीहरुले बैंकको सुन नकिनेको तर्कमा सहमति जनाउँदै राष्ट्र बैंकले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कार्यविधि संशोधनका लागि प्रस्ताव गरेको छ । जसमा मन्त्रालय पनि सकारात्मक देखिएको छ । बिक्री वितरण व्यवस्थित गरी दैनिक १५ केजी ननाघ्नेगरी बैंकहरुले पालैपालो सुन बेच्ने बैंकर्स संघका अध्यक्ष भण्डारीले बताए । बैंकहरुले सुन आयात पनि दैनिक कोटाका आधारमा महिना या दुई महिनामा पालैपालो आयात गर्छन् ।
महासंघहरुले भने उनीहरुले लिने सिफारिश शुल्ककै कारण व्यवसायी बैंकको सुन किन्न नगएको बैंकरहरुको आरोप झुटो रहेको भन्दै तस्करी नियन्त्रण नभएसम्म बंैकहरुको सुन बिक्री हुन नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top