AdAd
Ad

विकासशीलमा स्तरोन्नति हुने गृहकार्यका लागि एसिया–प्रशान्त क्षेत्र कम विकसित देशहरुको सम्मेलन शुरु Featured

काठमाडौं, १ पौष । विकासशील राष्ट्रमा स्तरोन्नति हुने गृहकार्यका लागि एसिया–प्रशान्त क्षेत्रका कम विकासित देशहरु (एलडीसी) को काठमाडौं सम्मेलन आजबाट शुरु भएको छ । एसिया–प्रशान्त क्षेत्रमा १३ कम विकसित, भूपरिवेष्ठीत कम विकसित तथा टापू राष्ट्रहरु छन् । संयुक्त राष्ट्रसंघको सन् २०११ को मे महिनामा टर्कीको इस्तानबुलमा भएको चौथो एलडीसी सम्मेलनले एलडीसीहरुको सन् २०२० सम्मको विकास योजनामा उनीहरुको उत्पादन क्षमता अभिवृद्धि गर्ने तथा विकासशील राष्ट्र बन्नका लागि आवश्यक मापदण्ड पुरा गर्ने कार्यक्रम अख्तियार गरिएको थियो ।
एलडीसीहरुलाई विकासशील देशमा स्तरोन्नतिका लागि वार्षिक औसत सात प्रतिशतको आर्थिक वृद्धि आवश्यक हुन्छ । काठमाडौं सम्मेलनमा एलडीसीहरुको बैठक स्तरोन्नतिका लागि भएका प्रयास तथा अहिलेसम्मका उपलब्धिहरुका सम्बन्धमा समीक्षा गर्नेछन् । उनीहरुले सहस्राब्दी विकास लक्ष्यपछि तय हुने क्रममा रहेको २०१५ पछिको विकास योजनालाई कसरी एलडीसीको अनुकुल बनाउने भन्ने सम्बन्धमा दुई दिने सम्मेलनका क्रममा छलफल गर्नेछन् ।
सम्मेलनका क्रममा सन् २०१५ पछिको विकास योजनाले सहस्राब्दी विकास लक्ष्यका बाँकी कामहरु पुरा गर्नुपर्ने तथा सहस्राब्दी विकास लक्ष्यभन्दा बृहत्तर अर्थात् सामाजिक र मानव विकाससहित आर्थिक, पूर्वाधार, तथा वातावरणीय पक्षको विकासलाई समेटेर समन्यायिक, समतामूलक तथा समावेशी विकासमा जोड दिएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आगामी दिनमा अवसर गुमाउन नहुने भन्दै विकासशील देशमा स्तरोन्नतिपछिका चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा केन्द्रीत हुनुपर्ने बताए ।
सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महतले नेपालमा पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी बढ्दै गएको र चालु आर्थिक वर्षमा मात्र यस्तो प्रतिवद्धता ११ अर्ब डलरको प्रतिवद्धता प्राप्त भएको उल्लेख गरे । उनले एलडीसीहरुले आफ्नो प्रतिस्पर्धी क्षमता बढाएर विकासशील राष्ट्रमा स्तरोन्नति हुनपर्नेमा जोड दिदैं नेपालले प्रचुर सम्भावना रहेको जलविद्युतको विकासबाट अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने बताए ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले गरिबीबाट भर्खरै माथि उठेको समुदाय विभिन्न प्राकृतिक विपत्ति तथा अन्य जोखिमबाट पुनः गरिब बन्न सक्ने भएकोले उनीहरुको क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्र संघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले एलडीसीहरुको स्तरोन्नतिका लागि विकासित देशहरुले विकास सहायता बढाउने, व्यापारका लागि विशेष सहुलियत दिने व्यवस्था गरेको उल्लेख गर्दै आगामी दिनमा एलडीसीहरु पूर्वाधार विकास र उत्पादन अभिवृद्धिमा केन्द्रीत हुनुपर्ने बताए । उनले इस्तनबुल सम्मेलनको मर्म अनुसार एलडीसीहरुको स्तरोन्नतिसँगै दिगो विकासमा जोड दिए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top