AdAd
Ad

सार्क व्यापार मेला पाकिस्तामा आयोजना हुने

काठमाडौं, १४ मंसीर । सार्क देशहरुको क्षेत्रीय व्यापार अभिवृद्धि तथा संस्कृति आदान प्रदानका उद्देश्यले गरिदैं आएको सार्क व्यापार मेलाको १२औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । आगामी माघ १६ देखि १८ सम्म पाकिस्तानको लाहोर सहरमा आयोजना हुने मेलामा नेपालले १० भन्दा बढी स्टलहरुमा सहभागीता जनाउन लागेको बताइएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेका अनुसार यस वर्ष सार्क मेलामा पर्यटन प्रवद्र्धनका लागि एउटा छुट्टै स्टल राखिनेछ । पछिल्ला वर्षहरुमा नेपालको पाकिस्तानसँगको व्यापार घाटा बढ्दै गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा नेपालको पाकिस्तानसँगको व्यापार घाटा २६ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जबकी यसभन्दा अघि यस्तो घाटा २० करोड ४७ लाख रुपैयाँ थियो । नेपालले पाकिस्तानबाट बढी मात्रामा मेडिकल उपकरण, वनस्पति र यसका हिस्सा, पेट बोटल लगायत आयात गर्छ भने नेपालबाट पाकिस्तानतर्फ निर्यात हुने प्रमुख वस्तुहरुमा हस्तकलामा सामग्री, पस्मिना सल, ऊनका सामग्री तथा चाँदीका गहना पर्छन् ।
सन् २०११ मा बंगलादेशले ११औं सार्क व्यापार मेला आयोजना गरेपछि सन् २०१३ मा मालदिभ्सले मेला आयोजना गर्ने भएको थियो । तर उक्त मेला आयोजना हुन सकेन र यो सन् २०१५ को जनवरी–फ्रेबु्रअरीमा हुने भएको हो । यस्तो व्यापार मेला सन् १९९८ मा श्रीलंकाले आयोजना गरेको थियो । नेपालले पनि सन् २००४ र सन्. २०१० मा समेत गरी दुईओटा सार्क व्यापार मेला आयोजना गरिसकेको छ । कमजोर सम्पर्क सञ्जाल र बढी व्यापार लागतका कारण सार्क क्षेत्रीय व्यापार यस क्षेत्रले अन्य मुलुकसँग गर्ने कुल व्यापारको पाँच प्रतिशत नाघ्न सकेको छैन ।
पाकिस्तान सन् २०१६ मा हुने आगामी सार्क शिखर सम्मेलनको आयोजक राष्ट्र पनि हो ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top